Friday, December 11, 2009

साधनारत शीला संगीतमा

धेरै गीत गाएर पनि मिडियामा त्यति नआएकी गायिका हुन्-शीला विष्ट । देखेर चिनेको भन्दा आवाज सुनेर चिनेको उनलाई रमाइलो लाग्छ । कुनै पनि गीत-संगीतले मुटु नछोएसम्म त्यसले काम गरेको मानिँदैन । क्षणिक हिट भएर हराउने चाहना उनको छैन । विष्ट भन्छिन्- संगीतलाई साधनाका रूपमा लिनुपर्छ ।
बाल्यकाल मामाघरमा बिताएकी शीलालाई मामाको गीत-संगीतप्रतिको रुचिकै कारण गीत गाउन थालेको बताइन् । उनी २-३ कक्षा पढ्दा नै लता मंगेसकर, तारादेवी, अरुणा लामा, गुलाम अली, भक्तराज आचार्यका गीतहरू नक्कल गरेर गाउँथिन् । रेडियोमा कुनै राम्रो गीत गुञ्जियो भने सबैलाई चुप लगाई क्यासेटमा रेकर्ड गरेर प्राक्टिस गर्थिन् । सबैले तिम्रो स्वर कस्तो मीठो भनेपछि फुरुङ्ग भएर त्यहीँ ३-४ वटा गीत सुनाउने उनको बानी थियो । कक्षा ८ मा पढ्दा रेडियो नेपालमा भएको बाल गीत प्रतियोगितामा उनी प्रथम भएकी थिइन् । त्यतिबेला उनले फूलैफूल मकै देख्छु नाङ्लोभरि, खान मन लाग्दालाग्दै हिँड्नुपर्छ भोकै गीत गाएकी थिइन् । धेरैको स्यावासी पाएपछि शीलामा एल्बम निकाल्ने रहर जाग्यो । हुन त उनले त्यतिबेला ४ वटा गीत रेकर्डसमेत गराएकी थिइन् तर त्यो एल्बम बजारमा आउन सकेन, तैपनि त्यो रेकर्डका दौरानमा उनले थुप्रै संगीतकारसँग नजिक हुने अवसर भने पाएकी थिइन् । त्यही सम्पर्कले स्कुले जीवनमै उनले थुप्रै सिरियल, जिंगल, टेलिभिजन र एफएमका प्रोग्रामहरूमा गाउने अवसर पाइन् । एसएलसी पूरा हुनासाथ संगीतकार लक्ष्मण शेषको संगीतमा चलचित्र तिम्रो माया उनान्सय, मेरो माया सयमा गाउने अवसर पाइन् । एसएलसी दिएपछि उनी प्रकाश गुरुङसँग संगीत सिक्न थालिन् । त्यही दौरान उनले साफ गेमका लागि ७ वटा भाषामा गीत गाउन पाइन् ।
एसएलसीपछि पद्मकन्या कलेजमा संगीत पढ्दा नाचघरमा निःशुल्क संगीत प्रशिक्षणका लागि पहिलो नम्बरमै उनको नाम निस्किएको थियो । बिहान कलेज, दिउँसो नाचघरमा शास्त्रीय संगीतको प्रशिक्षण । संगीत जति सिके पनि नपुग्ने शीलाको धारणा छ, त्यही भएर नाचघरमा १ वर्षको प्रशिक्षणपछि कमल क्षेत्री, ओम संगीत र कलानिधि इन्दिरा संगीत महाविद्यालयमा संगीत कक्षा लिइन् । पद्मकन्याबाट संगीतमा स्नातक गरेकी शीलाले इलाहावादबाट छैटौं वर्ष सकेकी छिन् । शीला छैटौं वर्षकी गोल्ड मेडलिस्ट पनि हुन् ।
उनले २०६१ सालमा सरप्राइज शीर्षकको सोलो एल्बम निकालेकी थिइन् । लोक, आधुनिक, गजल, सेन्टिमेन्टल गीतहरू समावेश उक्त एल्बमको झरझर झरिदिउँला, झरनाझैं दिलमा जस्ता गीतले उनलाई चिनाएको छ । संगीत प्रवीण मोहनप्रसाद जोशीको संगीतमा रहेको भजन संग्रह समर्पण भाग १ र २ मा पनि शीलाको स्वर सुन्न पाइन्छ । भजन गाउँदा मन आनन्दित हुने र आधुनिक गीत गाउँदा आत्मसन्तुष्टि मिल्ने उनले बताइन् तर उनी भर्सटाइल गायिकाका रूपमा श्रोताहरूको मनमा बस्न रुचाउँछिन् । थारू, मैथिली, नेवारी, भोजपुरी आदि भाषाका गीत गाइसकेकी शीलाले थारू भाषाका चलचित्रमा पनि स्वर दिएकी छिन् । अहिले चलचित्र संगीतमा व्यस्त शीलाले म तिमीबिना मरिहाल्छु, गोर्खा रक्षक, कहाँ छौ कहाँ, टार्गेट आदि चलचित्रमा गाइसकेकी छिन् भने अरू थुप्रै चलचित्रमा अनुबन्धित भैसकेकी छिन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको एल्बम एवं महाकवि लक्ष्मीप्रसाद देवकोटाको एल्बममा पनि उनले गीत गाइसकेकी छिन् । रिमिक्स गीत सुन्न र गाउन नरुचाउने शीला अहिले नयाँ एल्बमको तयारीमा छिन् ।
राष्ट्रिय नाचघरमा गायिकाका रूपमा कार्यरत शीला जिन्दगी नै संगीत, संगीत नै जिन्दगी भन्न रुचाउँछिन् । उनले नयाँ गायक-गायिकालाई सिकेर मात्र संगीतमा पाइला चाल्न अनुरोध गर्छिन् । सिकेर-बुझेर मात्र यो क्षेत्रमा लाग्दा राम्रो हुने उनको धारणा छ ।
माधव प्रसाद पाण्डेय
ललित कला क्याम्पस, काठमांडू
साभार : नारी