राई इज किङको यात्रा : राजेश पायल राई

राई इज किङको यात्रा : राजेश पायल राई
साप्ताहिकको प्रस्तुतिमा पछिल्लो समयमा गीतिसंग्रह 'राई इज किङ' श्रोतामाझ ल्याएका गायक राजेश पायल राई यतिखेर सांगीतिक यात्रामा व्यस्त छन् । आधुनिक गायनमा मात्र होइन, पाश्र्वगायनमा समेत नम्बर एक गायकको स्थान बनाउन सफल गायक राईले यो गीतिसंग्रहलाई जीवनकै महत्त्वपूर्ण गीतिसंग्रह बताएका छन् । साप्ताहिकको प्रस्तुतिमै गत वर्ष दर्शन नमस्ते गीतिसंग्रह ल्याएका गायक राईले त्यसबेला साप्ताहिकले जुराइदिएको नाम 'राई इज किङ' उपनामलाई नै आधार बनाएर यो गीतिसंग्रह तयार पारेका हुन् ।

गायक राईले डेढ दशक लामो गायन यात्राका क्रममा लाखौं नेपाली श्रोताको मन जितेका छन् । 'फैलियो माया दूबोसरि' लोकप्रिय भएपछि राजेशले ०५२ सालमा पहिलो गीतिसंग्रह 'मुच्र्छना' सार्वजनिक गरेका थिए, जसमा फैलियो माया दूबोसरिका अतिरिक्त नमाग मसँग सहारा नमाग तथा बलेसीमा पानी तप्कियो गीत श्रोताको मुखमा झुन्डिएको थियो । उक्त गीतिसंग्रहलाई श्रोताहरूले रुचाइदिएपछि राजेशले गायन करियरमा पछाडि फर्केर हेर्नुपरेन । 'त्यो संग्रहका गीत सुन्नेहरू अहिलेसम्म पनि राजेश पायल राईले यति मीठा गीत गाएका छैनन् भन्छन्,' राजेश भन्छन्- 'त्यसैले श्रोतालाई त्यही फ्लेभरका गीत दिने मेरो प्रयास जारी छ ।' ०५३ सालमा उनले 'पूर्वमा रंग चढेछ' शीर्षकको गीतिसंग्रह सार्वजनिक गरे । उक्त संग्रहको गीत सल्ला सुसायो पारि वनमा लोकप्रिय भयो । ०५४ सालमा जस्ट फर यू संग्रह श्रोतामाझ आयो, जसको घुम्न जाऊँ धरान, न्याउली रोयो त्यो पारि वनमा गीत मन पराइए । यस्तै ०५५ सालमा लभलेटर सार्वजनिक भयो । उक्त संग्रहमा कोसोभोको युद्धमा शहादत प्राप्त गर्ने गोर्खाली सार्जन बलराम राईको स्मृतिमा बनाइएको गीत, कोसोभो एन्ड कार्गिल सच अ सरो, अंग्रेजी र नेपाली दुइ भर्सर्नमा थियो । 'वीरताको गाथा गाइएको भए पनि उक्त संग्रह सुपर फ्लप भयो ।' गायक राई भन्छन्- 'चर्चा धेरै भए पनि मेरा अहिलेसम्मका गीतिसंग्रहमध्ये यो सबैभन्दा कम बिक्री भएको संग्रह हो ।' त्यसपछि ०५६ सालमा बैगुनी रै'छौ मायालु शीर्षकको गीतिसंग्रह आयो । संग्रह यति धेरै लोकप्रिय भयो कि अघिल्लो वर्ष सुपर फ्लप भएको एल्बमको पीडा उनले सहजै बिर्सिए ।
०५८ सालमा उनले 'निगाह' गीतिसंग्रह सार्वजनिक गरे । उक्त संग्रहका गीतहरू मुम्बईमा रेकर्ड गरिएका थिए । संग्रहको एउटा गीतको भिज्युअल हङकङमा छायांकन गरिएको थियो । उक्त संग्रह पनि अर्को सुपर फ्लपमा दरियो । गायक राई भन्छन्- 'सुपर फ्लपपछि सुपरहिट अनि फेरि सुपर फ्लपको श्रृंखला बन्यो ।' ०६१ मा जदौ गीतिसंग्रह सार्वजनिक भयो । लोक फ्लेभरका गीत समाविष्ट यो संग्रहको गीत बदाम सोलीमा अत्यधिक लोकप्रिय भयो ।
०६३ मा कामना गीतिसंग्रह सार्वजनिक भयो । ५० हजारभन्दा बढी प्रति बिक्री भएको उक्त गीतिसंग्रह वर्षकै सबैभन्दा उत्कृष्ट गीतिसंग्रहमा दरियो । नेपाली सांगीतिक फाँटमा देखिएको खडेरीको समयमा उक्त संग्रहले नयाँ रेकर्ड कायम गर्‍यो । वर्ष ६३ को इमेज अवार्ड, हिट्स एफएम तथा कालिका एफएम अवार्ड पाउन सफल यो संग्रहको सफलताकै आधारमा गायक राईले नारायणगोपाल युवा पुरस्कार पनि पाए । सफलताको शिखर चढ्ने क्रममा उनले लोकभाकालाई निरन्तरता दिँदै ०६५ सालमा जदौ भाग २ सार्वजनिक गरे, जसले औसत सफलता पायो । गत वर्ष गायक राईले महत्वाकांक्षी गीतिसंग्रह दर्शन नमस्ते सार्वजनिक गरेका थिए । राई भन्छन्- 'मैले नयाँ जीवन पाएपछि मेहनत गरेर यो संग्रह तयार गरेको थिएँ, दर्शक-श्रोताले त्यसलाई मन पराइदिनुभयो ।
पाश्र्वगायनको यात्रा
सुगम गायनमा स्थापित भएपछि गायक राजेश पायल राईले चलचित्र गरिबमा गीत गाउने मौका पाए । पाश्र्वगायनको यो पहिलो फड्कोमा पनि उनी सहजै जमेपछि त्यसयता राजेशको व्यस्तता घटेको छैन । चलचित्र गरिबको 'नागबेली नागबेली चुल्ठोले...' गीत श्रोताको मुखमा झुन्डिनुले पाश्र्वगायनमा उनको यात्रा जम्ने आधार बन्यो । तत्कालीन परिवेशमा चलचित्र बन्ने क्रम सुस्त भएकाले उनले वर्षभरीमा १० वटा गीत गाए । त्यसमध्ये प्रायः गीत श्रोताको मुखमा झुन्डिन सफल भए । राजेश अहिले चलचित्रका लागि महिनामा न्यूनतम ३० वटा गीत गाउँछन् । राईको सूचीमा थुप्रै हिट गीत छन् । चलचित्र सिलसिलाको सागरसरि चोखो माया र मिसन पैसाको ढल ढल जोबन उनले गाएका पछिल्ला चर्चित चलचित्रका गीत हुन् ।
Source : www.ekantipur.com/saptahik

Comments

Popular posts from this blog

रास्त्रपति लाई आग्रह

फत्तेमान राजभण्डारी

TIMI ROYEKO PAL - तिमी रोएको पल ||Sugam Pokhrel & Anju Pant | Cover By M...